कलेजो रोग अर्थात हेपाटाइटिस के हो ?

600
शेयर

पढ्ने समय: 7 मिनेट/-

-डा. उज्वल न्यौपाने

सन्दर्भः विश्व हेपाटाइटिस दिवस
हरेक वर्ष जुलाई २८लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ र यो दिनमा गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरुले विश्वभर हेपाटाइटिसको भार कम गर्न प्रमुख भूमिका निर्वाह हुनसक्छ । विश्व स्वास्थ संगठनको मुल्याँकन अनुसार विश्वभर ३२ करोडभन्दा बढि मानिसहरु हेपाटाइटिस बी र सी संक्रमित छन् । विश्वभर हेपाटाइटिस बी का कारण उत्पन्न हुने जटिल स्वास्थ समस्याले गर्दा बार्षिक ९ लाख मानिसहरुको मृत्यु हुने गरेको छ भने विश्वभर ९० प्रतिशत संक्रमितलाई आफु संक्रमित भएको ज्ञान हुनेगरेको छैन । विश्वका अधिकाँश मुलुकका सरकारहरुले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिस मुक्त गराइसक्ने लक्ष्य लिएका छन् । ४ बर्षअघि थालिएको यो अभियान सफल पार्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन सक्छौं । यसका निम्ति हेपाटाइटिस र यसको रोकथामका बारेमा जानकारी राख्ने, अरुलाई पनि सिकाउने गर्नुपर्दछ । हाम्रो सरकारले यस सम्बन्धि के कस्तो रणनीति अवलम्बन गरिहेको छ भन्ने बुझेर त्यसलाइृ सफल कार्यन्वयन गर्ने अनि सरकारको ध्यानाकर्षण गराउनु हामी सबैको दायित्व हुनजान्छ ।

आजको यस बिषेश दिनलाई स्मरण गरेर मैले यो लेख मार्फत हामी हेपाटाइटिसबारे जानौं र यसबाट कसरी जोगिन सकिन्छ भन्ने सिकौं अनि आम सर्वसाधारण मानिसलाई समेत सिक्ने अवसर प्राप्त होस भन्ने हेतुले यो लेख प्रकाशित गर्ने जमर्को गरेको छु ।
कलेजो अथवा कलेजोको भाग सुन्निनुलाई हेपाटाइटिस भनिन्छ । यो अवस्था आफै सिमित भएर जानसक्छ भने कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने (फाइब्रोसिस), सिरोसिस (Cirrhosis) हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्दछ । हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् भने अन्य तत्वहरुमा अल्कोहल (Alcohol), केही औषधिहरु (जस्तै बाथमा प्रयोग गरिने एल्लोप्युरिनेल (Allopurinol), मुटुको अस्थिर चाल सच्याउन प्रयोग गरिने एमियोडारोन (Amiodarone), केहि एन्टिबायोटिकहरु जस्तैः एमोक्सिसिलिन–क्ल्याभुलानेट(Amoxicillin-clavulanate)(carbamazepine),छारेरोगको औषधि कार्बामाजेपाइन (carbamazepine) आदी तथा विभिन्न अटोइम्युन (Auto-immune) पर्दछन् । आज हामी हेपाटाइटिस भाइरसद्वारा उत्पन्न हुने रोगको बारेमा कुरा गछौं ।
के हो हेपाटाइटिस भाइरस ।
हेपाटाइटिस गराउने हेपाटोट्रोफिक (Hepatatrophic) भाइरसहरु पाँच प्रकारका छन् जसलार्इृ क्रमशः ए,बी,सी,डी र इ नाम दिइएकोछ । यी मध्ये ए , बी र डी खोपमार्फत रोकथाम हुनसक्छन् । ए , र ई दुषित खाना वा पानिको मार्फत संक्रमिण गर्दछन् । बी र सी र डी भने मानव शरिरका तरल पदार्थहरु मार्फत सर्दछन् । सर्ने माध्यमहरुमा संक्रमित रगत प्राप्त गर्दा, चिकित्सा उपचारमा प्रयोग हुने औजारका माध्यमबाट, संक्रमित सुइहरुको असुरक्षित प्रयोगबाट, गर्भवती आमाबाट बच्चामा तथा यौन सम्पर्कको माध्यमबाट समेत सर्न सक्दछन् । डी भाइरसले भने बी भाइरसको संक्रमितमा मात्र संक्रमण गर्ने गर्छ । बी र डी को दुइतर्फि संक्रमण भएका बिरामीमा भने जटिल रोग लाग्ने र खराव परिणाम आउने गर्दछ । हेपाटाइटिस ए र इ ले समान किसिमको व्यबहार गर्छन् । विकासशील देशहरुमा मुख्यतया देखिने यी भाइरसले स्वयं सिमित परिणाम दिन्छन् र पुरानो रोग पनि गराउदैनन् । ६ महिना भन्दा बढि लाग्ने रोगलाइृ पुरानो अथवा क्रोनिक (Chronic) हेपाटायटिस भनिन्छ भने त्यो भन्दा कम लाग्ने रोगलाई तिब्र अथवा एक्युट (Acute) हेपाटाइटिस भनिन्छ । तीब्र रोग पछि गएर पुरोनो रोगमा परिणत हुन सक्दछन् जसमा जटिलता देखिने सम्भावना हुन्छ । त्यसैले ए र इ को संक्रमणका कारण जटिल समस्या देखिदैनन् । हेपाटाइटिस बी र सी तीब्र वा पुरानो रोगको रुपमा देखा पर्न सक्दछन् । प्राय स्वयं सिमित रहने हेपाटाइटिस बी वयस्कमा ५ प्रतिशत मध्ये २०–३० प्रतिशतमा सिरोसिस वा क्यान्सर देखिन सक्छ । सी ले गराउने रोग भने अधिकांस पुरानोमा परिणत भइसकेको हुन्छ । बालबच्चामा भने भने पुरानो रोग देखापर्ने खतरा धेरै हुन्छ । हेपाटाइटिस बी, सी र डी चुम्बन गर्दा, अंकमाल गर्दा तथा स्तनपान गर्दा नसर्ने भएपनि शरिरबाट निस्कने तरल पदार्थ, खुल्ला घाउ तथा काटेको घाउको माध्यमबाट भने सर्न सक्दछ र संक्रमित हुने सम्भावना बढी हुन्छ ।

कसरी हुन्छ

भाइरसले कलेजोको कोषहरुमा संक्रमण गरेपछि शरिरको इम्युनिटि (रोगहरु संग लड्ने शक्ति) क्षमतालाई सक्रिय गराएर कोषको क्षति गर्ने गर्दछ । संक्रमणपश्चात भाइरस सकिएर निको हुन पनि सक्छ (जसलाइृ तीब्र रोग भनिन्छ) अथवा रहिरह्यो भने कोषहरु सुन्निने, घाइते हुने र ठीक हुने प्रक्रियाहरु दोहोरिरहन्छ र कलेजोमा दागहरु बसेर अन्त्यमा क्यान्सरमा परिणत हुने गर्दछ ।
कस्ता खालका लक्षणहरु देखिन्छन् ।


तीब्र रोगको सुरुवाती क्षणमा प्राय लक्षणहरु देखिदैन । पहिले देखिने लक्षणहरुमा शारिरिक थकान, वाकवाक,लाग्ने, खानाको रुची कम हुने, हल्का ज्वरो आउँने, पेट दुख्ने आदी हुन्छन् । पछि कलेजोमा क्षति हुँदै गएपछि छाला र आँखा पहेलो हुने (जण्डिस), पिसाव गाडा रंगको हुनेजस्ता लक्षण देखिन्छन् । तीब्र रोगको अन्त्यतिर रोग निको हुदै जान्छ र यो अवधिमा कलेजोको इन्जाइमहरु बढी भइरहने, कलेजो सुन्निने आदि साधारणतया हुने गर्दछ । ए र इ को संक्रमणमा १–२ महिनामा रोग ठीक भएर जान्छ भने बी को संक्रमणमा पूर्णूपमा ठीक हुन ३–४ महिना सम्म लाग्नसक्छ ।
पुरानो रोगको सुरुवाती क्षणहरुमा लक्षणहरु देखिदैन । जाँजमार्फत मात्र रोग फेला पर्नसक्दछ । कलेजो सुन्निदै जाँदा तीब्र रोगमा देखिने लक्षणहरु देखिन थाल्दछ । पछि गएर जण्डिस देखिने हुनसक्छ । पुरानो (क्रोनिक) रोगले हर्मोन असन्तुलित गर्नसक्छ जसले गर्दा डण्डीफोर आउने, शरिरका विभिन्न भागमा रौं पलाउने र महिलामा महिनावारी रोकिने वा नहुने पनि हुनसक्छ । कलेजोमा धेरै क्षति भएपछि सिरोसिस हुन्छ जसले गर्दा जण्डीस, तौल घट्ने, पेटमा पानी जम्मा हुने र खुट्टा सुन्निने हुन्छ । सिरोसिस भएपछि यसले कलेजोमा थप जटिल रोगहरु उत्पन्न गराउनसक्छ ।
हेपाटाइटिस बी, सी र डी को तीब्र रोग अवधिमा हुनसक्ने एउटा घातक जटिलता हो फल्मिनान्ट हेपाटाइटिस (Falminant hepatitis) । यो जटिलता बी र डी लागेका बिरामीमा २–२० प्रतिशतमा देखिनसक्छ र हेपाटाइटिस इ लागेका गर्भवती महिलामा १५–२० प्रतिशतमा दाखिनसक्छ । यसमा देखिने अन्य लक्षणमा सजिलै निलडाम बस्ने, चोट लाग्दा रगत बग्न नरोकिने, मानसिक भ्रम उत्पन्न हुने, अन्योलपूर्ण अवस्थाबाट गुज्रिने, निद्रा लागिरहने आदि हुनसक्दछ । यो अवस्थामा शरिरको अन्य भागमा समस्या आएर मृत्युहुने समेत गर्दछ ।

यो पनि पढ्नुहोस  वुहानबाट उद्धार गरी ल्याइएका खरिपाटी क्वारेन्टाइनमा

जाँच पड्ताल कसरि गरिन्छ
हेपाटाइटिस एकिन गर्न कलेजोको विभिन्न इन्जाइम (Enzymes) मापण गरिन्छ । त्यस्तै रगतको जाँच गरेर भाइरसविरुद्ध ्शरिरले उत्पादन गर्ने एन्टिबडीहरुको मापणबाट पनि रोग पत्ता लाग्छ । भिन्न एन्टिबडीको मापणबाट रोगको अवस्था पनि आंकलन गर्न सकिन्छ । त्यस्तै विभिन्न इन्जाइमको मापणबाट पनि रोगको अवस्था र कारण समेत पत्ता लगाउन सहयोग हुन्छ । सिरोसिस भएको अवस्थामा भिडियो एक्स्रे, सी.टी. स्क्यान, एम.आर.आइ. (MRI) बाट जाँच गर्न सकिन्छ । कलेजो सुन्निएको वा दाग लागेको हेर्न बायोप्सी (Biopsy) गर्न पनि सकिन्छ ।

यो पनि पढ्नुहोस  सरकारले अब कोरोनाको संक्रमण देखिएमा क्वारेन्टाइनमा राख्न नसक्ने मन्त्री ढकालको भनाई, सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने मा जोड

उपचार बिधि तथा पद्दती
हेपाटाइटिस ए लागेको बिरामीलाइृ प्रशस्त आराम गराउने, पोषण मिलाएर प्रशस्त तरल पदार्थ खुवाउने गर्नुपर्दछ । अस्पताल भर्ना हुनुपर्ने नै त हुदैन तर नशा मार्फत तरल पदार्थ पूर्ति भने गर्नुपर्ने हुनसक्छ । हेपाटाइटिस बी लागेको बिरामी पनि ९५–९९ प्रतिशत सम्म पुरै निको हुन्छन् र एन्टिभाइरल प्रयोग गर्नुपर्ने हँुदैन । पुरानो रोग तथा सिरोसिसको लक्षण देखिएमा भने अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा भाइरसको प्रजनन् रोक्न औषधिहरु प्रयोग गर्न सकिन्छ जस्तै एन्टरिफरोन अल्फा (Interferon alpha), पेग इन्टरफिरोन (Peg Interferon), लामिभुडिन (Lamivudine), इन्टेकाभिर (Entecavir), टेनोफोभिर (Tenofovir) आदि तर यी औषधिहरु चिकित्सकको सल्लाह बेगर आफुखुशी प्रयोग गर्नुहुन्न । सिरोसिस भएर कलेजो धेरै क्षति भएको छ भने प्रत्यारोपणको उपायपनि अपनाउनुपर्ने हुन्छ । हेपाटाइटिस सीको उपचार गर्न प्राय एन्टीभाइरल जस्तै पेग इन्टरफिरोन (Interferoin), राइबाभाइरिन (Ribavirin) को प्रयोग गरिन्छ । क्रोनिक हेपाटाइटिस सीको उपचार कलेजोको क्यान्सरको रोकथाम गर्न समेत जरुरि देखिन्छ । हेपाटाइटिस डीको उपचार कठिन हुन्छ र इन्टरफिरोन अल्फा (Interferon alpha)ले उपचार सम्भावना देखाएको छ । इ लाई पनि सी जस्तै लक्षण अनुसार उपचार गरिन्छ । जटिलता देखिएमा अथवा गर्भवती महिलालाई भने अस्पताल भर्ना गरि उपचार गर्नुपर्ने हुन्छ ।

रोकथामका उपायहरु
हेपाटाइटिस ए र बीको रोकथामका लागि खोप उपलब्ध छ । मांसपेशीमा लगाइने यी खोपको अवधि र मात्रा मिलाएर सानै उमेर (१२–१४ महिना) मा लगाउनुपर्छ । एको लागि २ पटक खोप लगाउनुपर्ने हुनसक्छ । ए र ई दुषित पानि र खानाबाट सर्ने हुनाले सरसफाईमा ध्यान दिने, सफा पानी पिउने तथा फोहोरको उचित ब्यबस्थापन गर्नु अत्यावश्यक छ । बी र सीको निमित्त रगत चलाउनु अघि राम्ररी परिक्षण गर्नुपर्दछ । त्यस्तै सुइ तथा धारिलो सामानहरु प्रयोग नगर्ने तथा असुरक्षित यौनसम्पर्क नराख्ने आदि महत्वपूर्ण छन् । भाइरसपछि अल्कोहल सेवन हेपाटाइटिसको प्रमुख कारण भएकोले मदिरा त्याग्नसके कलेजोमा धेरै सुधार आउन सक्छ ।
तसर्थ हेपाटाइटिस प्रति बेलैमा सचेत रहेमा यो एउटा मामुली रोग हो जसको रोकथाममा हामी आमसर्वसाधारणले सहयोग पु¥याउन सक्छौं । सानो उमेरमा खोप लगाएर तथा हाम्रो सफासुग्घर गर्ने बानीब्यहोरा सपार्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ । साथै रोग लागिहालेमा पनि नजिकैको स्वास्थ संस्थामा सम्पर्क गरि उचित परामर्श तथा उपचारको बाटो अपनाउन सकिन्छ । तसर्थ यस वर्षको विश्व स्वास्थ संगठनको विषयबस्र्र्तु हेपाटाइटिक–मुक्त भविष्य’ भन्ने नारालाई सफल पार्न हामी आजै देखि आफु भित्रैबाट सुरुवात गरौं । सम्पुर्ण विश्व मानव जातिमा विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा यस रोगबाट मुक्त रहनको लागि हार्दिक सुभेक्षा ।
(लेखक न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन्)

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस