उच्च स्तरीय समन्वय समितिले सय भन्दा कम संक्रमित रहेको जिल्लामा २५ गते आइतबारदेखि क्षमताभन्दा आधा यात्रु राखेर जिल्ला नकट्ने र छोटो दुरीका सवारी साधन चल्न दिने प्रस्ताव गरेको छ।
समितिले एक मिटरभन्दा धेरैको सामाजिक दुरी कायम गर्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्ने गरी जेठ २५ गतेबाट चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्दै लैजाने प्रस्ताव गरेको हो।
त्यसैगरी जेठ २५ गतेदेखि कपाल काट्ने सैलुन खुल्नेछन् भने सम्बन्धित कार्यलयको परिचयपत्रका आधारमा कार्यलयको कामसँग सम्बन्धित सवारी साधन समेत चल्न पाउने भएका छन्। तर २ पाँग्रे सवारी साधनमा एक जना मात्रै हिड्न पाउनेछन्।
दैनिक उपभोग्य बाहेकका अन्य सामान विक्री हुने पसल तथा डिपार्टमेन्टल स्टाेर समेत खुल्नेछन् भने अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु खुल्ला हुनेछन्।
- असार १ गतेदेखि सञ्चालन हुने क्रियाकलापहरु
उच्चस्तिरीय समन्वय समितिले असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यवसाय र धार्मिक स्थलहरु समेत खोल्ने प्रस्ताव गरेको छ।
समितिले असार १ गतेदेखि भने क्षमता भन्दा आधा यात्रु राख्ने गरी लामो दूरीका सवारीसाधन समेत चल्न दिने प्रस्ताव गरेको छ भने आन्तरिक हवाइ सेवा समेत क्षमताको आधा संख्यामा यात्रु राख्नेगरी सञ्चालनमा ल्याइने भएको छ।
निश्चित समय तोकी मदिराजन्य पदार्थको विक्री वितरण समेत खुल्ला हुनेछ भने सपिङ मलहरु समेत खोल्ने प्रस्ताव समितिले गरेको छ। समितिले गरेको उक्त प्रस्ताव मन्त्रीपरिषद्को बैठकले पारित गरेपछि मात्र लागु हुनेछन्।