सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए।
आजैको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्।
बैठकका उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा आज पारित भएको छ।’
मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन्।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ।
यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो। नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो। र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। भारतीय सेना प्रमुखले भने नेपाल सरकारले अरू कसैको निर्देशनका चलेको टिप्पणी गरेको थियो।