कञ्चनपुर । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसंगै खोरमा हालेको कुखुरा भोकै मर्न लागेपछि कञ्चनपुरका कुखुरा ब्यवसायीहरुले ज्यूँदै कुखुरा खाल्डोमा पुर्न बाध्य भएका छन् । १ सय रुपैयाँमा ४ वटा कुखुरा बिक्रि गरेर पनि गाउँमा खपत हुन नसकेपछि अहिले व्यवसायीहरुले ज्यूँदै कुखुरा खाल्डोमा पुर्न बाध्य बनेका हुन् ।
सबै मासु पसल बन्द भएकोले उत्पादन भएको कुखुराले बजार नपाएको र भएको कुखुराको पनि ढुवानी हुन नसकेपछि आफुले कुखुरालाई खाल्डोमा पुरेको कुखुरा तथा अण्डा संघ कञ्चनपुरका अध्यक्ष बिक्रम नाथको दुखेसो छ ।
चारो सकिए पछि घरमा रहेको अन्न बालीले केही दिन कुखुरा पालेको र घरको अन्न पनि सकिएपछि खाल्डोमा हाल्न बाध्य भएको कुखुरा व्यवसायीहरुको भनाइ छ । कोरोना भाइरसको कारण कुखुरा व्यवसाय चौपट बनेको र आर्थिक उपार्जनका लागि कुखुरा व्यवसाय थालेका कुखुरापालकहरुको समेत कन्तविजोग भएको गुनासो उनीहरुको छ ।
मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण घाटामा परेको कुखुरा व्यवसायी किसानको लगानी डुब्न नदिन सरकारसंग पहल गर्ने र आफ्नो वडाको तर्फबाट गर्न सकिने सहयोगको बारे विचार गर्ने भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ बताउनु हुन्छ ।
कञ्चनपुरमा स्थानीय प्रशासनले राति ८ बजेपछि दाना ढुवानी गर्न दिने भनेपनि बजार सबै बन्द भएको कारण दाना ढुवानी र मासु बेच्न समस्या भएकोे कुखुरा ब्यवसायीको दुखेसो छ ।