काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न नदिन र्यापिड टेष्टलाई गति दिने भएको छ । साथै परीक्षणको दायरा बढाउँदै अधिक भन्दा अधिकलाई परीक्षणको दायरा भित्र अटाइने भएको छ ।
आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा। विकास देवकोटाले सरकारले गरेको निर्णय अनुरुप परीक्षणको दायरा बढाएर यस्लाई प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले नेपाल भित्र स्थानीय तहमा पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएपछि यो केसले दोस्रो चरणमा प्रवेश पाएकोले यस्लाई दोस्रो चरणबाट तेस्रो चरणमा प्रवेश गर्न नदिन थप गम्भीर तयारीहरु अघि सारिएको जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बस्न किन आवश्यक छ र क्वारेन्टाइनको नियम पालना गर्न किन अनिवार्य छ भन्ने प्रश्नको जवाफ कैलालीमा हिजो भेटिएको संक्रमणले पुष्टि गरेको उल्लेख गर्दै प्रवक्ता डा। देवकोटाले प्रदेश र स्थानीय तहका सरकारले क्वारेन्टाइनमा राख्ने विषयमा गम्भीर बन्नु पर्ने बताउनु भयो ।
सरकारले मन्त्रिपरिषद्मार्फत शनिबार लिएको निर्णयको शिरोपर गर्दै कोरोना भाइरसको परीक्षणलाई आरडीएफ प्रविधिमार्फत थप प्रभावकारी बनाउने पनि देवकोटाले जानकारी दिनुभयो ।
उहाँले कोरोनाविरुद्ध कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षा लगायतका विषयमा सरकारले गरेको निर्णय अनुरुप मन्त्रालय सचेत रहेको उल्लेख गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षा पीपीई उपलब्ध गराउने विषयमा पनि तदारुकता देखाइएको बताउनुभयो ।
यसैबीच मन्त्रालयका प्रवक्ता देवकोटाले भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराउनुभएको छ ।