काठमाडौं । नेपालमा कोरोना भाइरसका सातौं संक्रमित पनि भेटिएको वर्ल्डो मिटर्स डट इन्फोले उल्लेख गरेको छ । तर यस्को औपचारिक पुष्टि नेपाल सरकारको तवरबाट भने हुन बाँकी छ ।
कोरोना भाइरस कोभिड १९ बारे अहिले विश्वभरको डाटा र यथार्थ अवस्था पेश गरिरहेको वर्ल्डो मिटर्स डट इन्फोले शुक्रबार दिउँसो आफ्नो डाटामा नेपालमा कोरोना भाइरस प्रभावित संख्या सात देखाएको हो । पुष्टि हुन बाँकी भए पनि पछिल्लो संक्रमित व्यक्ति पोखरामा भेटिएका हुन् ।
पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । संक्रमित व्यक्ति भारतबाट आएको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिन अघि स्थापना गरिएको कोरोना भाइरस कोभिड १९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखराको ल्याबमा गरिएको परीक्षण पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
