कञ्चनपुर। भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका छन् । नेपाल प्रवेश गर्नेमा केही भारतीय नागरिकसमेत छन् ।
भारतमा कोरानाको संक्रमण फैलिन थालेसँगै रोजगारी बन्द हुन थालेपछि संक्रमणबाट जोगिन नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर ६ घण्टामा १३ हजार भन्दा बढी नेपाली घर फर्किएको क्वारेन्टाइनले जनाएको छ । शनिबार बिहान हजारौँको संख्यामा नेपालीहरू घर फकिँदा सीमामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई सम्हाल्नै गाह्रो परिरहेको छ ।


शनिबार बिहान भारतबाट फर्किनेको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्प भएका थिए । बिहान ६ बजेदेखि ११ बजेसम्म करिब १३ हजार मानिस नेपाल प्रवेश गरेका हुन् । नेपालीसँगै केही भारतीयहरू पनि नेपाल प्रवेश गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य साना नाकाहरू बन्द गरेको जनाएको छ ।
गड्डाचौकीबाट पनि भारत नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। भारतबाट आएका सबैको नाम र ठेगाना संकलनको काम भइरहेको प्रजिअले बताए । ‘भारतमा त्रास छ । उद्योग कलकारखाना सबै बन्द भए’ उनी भन्छन्, ‘बेरोजगार भएपछि घर फर्किनुपर्ने अवस्था थियो, त्यसमाथि कोरोनाको त्रासले सबै फर्किन बाध्य भए ।’

अहिलेसम्म भारतका २२ राज्यमा कोरोना फैलिएको छ ।उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन् ।भारतबाट धमाधम मानिसहरुको भीड लाग्न थालेपछि स्थानीयबासीमा कोरोनाको त्रास बढेको छ ।