काठमाडौँ। भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियाको लापर्बाहीका कारण दुबईबाट काठमाडौंका लागि उडेका २८ जना नेपालीहरूले भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अनाहकमा बिचल्लीको अवस्था भोग्नु परेको छ ।
उनीहरू दुबईबाट शुक्रबार बिहान ४ बजे दुबईबाट एयर इन्डियाको उडानबाट दिल्ली ओर्लेका थिए। तर, एयर इन्डियाको लापर्बाहीका कारण अनाहकमा करिब दिल्ली एयरपोर्टमा उनीहरूले बिचल्ली भोग्नु परेको हो। नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि मात्र उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन्।
सास्ती खेपेका नेपालीहरूले सरकारले दुबईबाट काठमाडौं जाने उडानमा रोक लगाएपछि दिल्ली हुँदै जानका लागि एयर इन्डियाको टिकट काटेका थिए। त्यसअनुसार उनीहरू शुक्रबार बिहानै एयर इन्डियाकै ७:४० को विमानबाट काठमाडौंका लागि उड्न पर्ने थियो। तर, एयरपोर्टमा ओर्ले पछि उनीहरूको स्वास्थ्य परीक्षण गर्ने नाममा ३ घन्टा भन्दा बढी समय लगाइएका कारण उनीहरू समयमै काठमाडौं जाने काउन्टरमा पुग्न पाएनन्। र, उनीहरूको फ्लाइट छुट्यो।
त्यसपछि उनीहरूले एयर इन्डियाका अधिकारीहरूलाई आफूहरूलाई जसरी भए पनि काठमाडौं उडाउन आग्रह गरे। तर, त्यसमा एयर इन्डियाले बेवास्ता गरेपछि उनीहरूले दिल्लीस्थित नेपाली दूतावासलाई गुहारेका थिए। जानकारी पाउनासाथ दिल्लीस्थित नेपाली दूतावासले एयरपोर्ट र एयर इन्डियाका अधिकारीहरूसँग छलफल गरेको थियो।
दूतावासले दिल्ली एयरपोर्टको हृयाण्डल गर्ने कम्पनी जिएमआरका अधिकारीहरूसँग छलफल गरेपछि एयर इन्डियाले शनिबार जसरी भए पनि उडाउने प्रतिबद्धता जनाएको थियो। अहिले ती सबै नेपाली काठमाडौं ओर्लिसकेका छन् ।
‘दूतावासले पहल नगरेको भए त हामीहरूलाई बिचल्ली नै बनाउने थियो, नेपाल सरकारका तर्फबाट दूतावासले निकै सराहनीय काम गरेको छ, सरकार छ भन्ने अनुभूति भयो’ दिल्लीमा अलपत्र परेका नेपालीहरूमध्येका झापाका एकराज भने।
दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले एयर इन्डियाले आफ्नो कमजोरी भएको स्वीकार्दै सबै नेपाली यात्रुको जिम्मा लिएको र त्यहीँअनुसार शनिबार बिहानै काठमाडौं उडाएको बताए। ‘दूतावासले आवश्यक पहल गरेपछि एयर इन्डियाले शनिबार बिहानै उडानबाट काठमाडौं पठाउने भनेको थियो। आज उहाँहरू काठमाडौ ओर्लिसक्नु भएको छ,’ रेग्मीले भने।
नेपाली यात्रुहरूले भने एयरपोर्ट र एयर इन्डियाका कर्मचारीको लापर्बाहीकै कारण आफूहरूले अनाहकमा सास्ती भोग्नु परेकोमा आक्रोश व्यक्त गरेका छन्। उनीहरूको भनाईमा आफूहरूले दुबईबाट आउनासाथ काठमाडौंको उडानबारेमा सम्बन्धित कर्मचारीहरूलाई जानकारी दिइसकेका थिए। तर, स्वास्थ्य परीक्षण भन्दै कहिले अध्यागमन त कहिले स्वास्थ्य परीक्षण गर्ने ठाउँमा घुमाइएको र अन्ततः जहाज छुटेको उनीहरूको भनाइ छ।
आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नरहेको नेपालीहरूको गुनासो छ। ‘हामीले ओर्ले देखि नै भनेका थियौं, एयर इन्डियाको फ्लाइटका बारेमा तर, हाम्रो कुरा नै सुनेनन्,’ दुबईबाट आएकी पूजा डंगोललले भनिन्।
दूतावासले चासो राखेपछि भने एयर इन्डियाका कर्मचारीहरूको व्यवहारमा परिवर्तन आएको नेपालीहरूले बताए। अर्को सिफ्टको कर्मचारी भएर हो कि दूतावासले कुरा गरेपछि हो साँझ त राम्रो व्यवहार गरेको र खाना पनि राम्रै दिएको यात्रुको भनाइ छ।