काठमाडौं। कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिन थप निर्णय लिने विषयमा उच्चस्तरीय समितिको बैठक आज साँझ बोलाइएको छ ।
आज साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्जमा बस्ने गरी बैठक बोलाइएको हो । आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपप्रधानमन्त्री पोखरेलले रोकथामबारे भइरहेको प्रयास र प्रबन्धका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिनुभएको थियो । त्यसपछि थप निर्णय गर्ने संकल्पका साथ पोखरेलले समितिको बैठक बोलाउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभएको थियो ।
यसअघि, बुधबार बसेको बैठकले एसईई स्थगित गर्ने लगायतका निर्णय गरेको थियो । जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको समेत उहाँको भनाइ थियो ।