कोरोना भाइरसको त्रासका कारण सम्पूर्ण इटालीमा सामान्य जनजीवन निलम्बनमा रहेको बेला आफू ‘सेल्फ आइसोलेसन’मा बस्नुको अनुभव अत्यन्तै कठिन रहेको रोमेलु लुकाकुले बताएका छन्।
स्वासप्रस्वाससम्बन्धी रोगबाट ग्रसितहरूमा कोरोना भाइरसको सङ्क्रमण विस्तारै बढ्दै गएका कारण सरकारी निर्देशनमै इटालियन सिरी ‘ए’ अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ।
इटालीमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण ४१ हजार ३५ जनामा देखिइसकेको छ भने ३ हजार ४ सय ५ जनाले यसैका कारण ज्यान गुमाइसकेका छन्। चीनको उहानमा पहिलोपटक देखिएको कोरोना भाइरस विश्वका सबैजसो भूभागमा पुग्ने क्रममा अहिले इटालीलाई नयाँ इपिसेन्टर बनाएको छ।
इटालीमा अत्यावश्यकबाहेक सबैखाले मानवीय गतिविधिलाई निलम्बनमा राखिएका कारण गतसातादेखि क्वारेन्टाइनमा रहेका लुकाकुले पनि आफ्ना छोरा, आमा र भाइलाई भेट्न पाएका छैनन्। जसबाट आफूलाई अत्यन्तै पीडा भइरहेको उनले बताएका छन्।
‘अहिले अत्यन्तै होसियार हुनुपर्ने अवस्था छ। कसैलाई छुँदा पनि डराउनुपर्छ। अन्यथा आफूमा भाइरस भए सर्ने सम्भावना हुन्छ,’ लुकाकुले इयान राइटको युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो आमालाई मधुमेहको समस्या छ। त्यसैले आमालाई बढी खतरा हुनसक्छ। जसका कारण म घर जान र उनलाई छुन सक्दिन। अहिले आमा बाहिर जानुहुन्न। उहाँ घरको पछाडि निस्कने र राति ढिलोगरी हिँड्नु हुन्छ।’मलाई सबैको स्वास्थ्य अवस्था सोच्दा दुख लागिरहेको छ। म चाँडो भन्दा चाँडो कोरोनाको त्रासबाट विश्वमुक्त भएको हेर्न चाहन्छु। चाँडो भन्दा चाँडो दर्शकले खचाखच रङ्गशालामा फुटबल खेल्न चाहन्छु।
फिजियोसँग क्वारेन्टाइनमा बसेका लुकाकुलाई उनको क्लब इन्टर मिलानको अभ्यास शिविरबाट समय–समयमा खाना पुर्याउने प्रबन्ध मिलाइएको छ। दैनिक अभ्यासमा नरहेकाले फिट्नेस कायम रहोस् भनेर उनको खानामा त्यहीअनुसार कटौती गरिएको छ। उनलाई खासगरी माछा र शाकाहारी खानपिन दिइने गरेको बताइएको छ।
जारी सिजनमा इन्टर मिलानका लागि ३५ खेलमा २३ गोल गरेका लुकाकुले पछिल्लो ९ दिन बाहिर निस्कन नपाउँदा, अभ्यास गर्न नपाउँदा र परिवार तथा साथीहरूसँग भेट्न नपाउँदा धेरै दिक्कलाग्दो दैनिकी बिताइरहेको बताए।
इन्टरले मिलानको सिटी सेन्टरस्थित साना अपार्टमेन्टमा बसाइँका कारण खेलाडीहरूले आफै अभ्यास गर्न पनि ठाउँ अभाव भएको उनले बताए। फिटनेसका लागि अपार्टमेन्टमा ट्रेडमिल र साइकलसमेत नभएको अवस्थामा आफूलाई साइकल भने क्लबले ल्याइदिएको उनले बताए।
‘मैले सामान्य अवस्थाको जीवन मिस गरिरहेको छु। छोरा, आमा, भाइ र बाहिरका मानिसहरूसँग भेट्न कहिले पाउँला जस्तो भइरहेको छ,’ लुकाकुले भने, ‘यो मेरो कथा हो। तर, अहिले सम्पूर्ण विश्व कोरोनाबाट पीडित छ। मलाई सबैको स्वास्थ्य अवस्था सोच्दा दुख लागिरहेको छ। म चाँडो भन्दा चाँडो कोरोनाको त्रासबाट विश्वमुक्त भएको हेर्न चाहन्छु। चाँडो भन्दा चाँडो दर्शकले खचाखच रङ्गशालामा फुटबल खेल्न चाहन्छु।’-एजेन्सी